| # विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ |
|
|
| **प्रमाणीकरण मिति** |
| २०७६।०७।०६ |
| **संशोधन गर्ने ऐन** |
| केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६२ |
| २०६२।०४।१४ |
| **संवत् २०७६ सालको ऐन नं. १४** |
|
|
| --- |
|
|
| ## विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन |
|
|
| **प्रस्तावनाः** |
| वस्तु वा सेबाको बजार प्रवर्द्धन वा बिक्री, वितरण गर्न वा त्यस्तो वस्तु वा सेबाको प्रचार प्रसारको लागि गरिने विज्ञापन तथा तत्सम्बन्धी व्यवसायलाई नियमन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न बाञ्छुनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ। |
|
|
| --- |
|
|
| ## परिच्छेद-१ |
| **प्रारम्भिक** |
|
|
| १. **संक्षिप्त नाम र प्रारम्भः** |
| (१) यस ऐनको नाम "विज्ञापन (नियमन गर्ने) ऐन, २०७६" रहेको छ। |
| (२) यो ऐन तुरून्त प्रारम्भ हुनेछ। |
|
|
| २. **परिभाषाः** |
| विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, |
| (क) "अध्यक्ष" भन्नाले बोर्डको अध्यक्ष सम्झनु पर्छ। |
| (ख) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ। |
| (ग) "बोर्ड" भन्नाले दफा १४ बमोजिमको विज्ञापन बोर्ड सम्झनु पर्छ। |
| (घ) "मन्त्रालय" भन्नाले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्झनु पर्छ। |
| (ङ) "विज्ञापन" भन्नाले कुनै वस्तु, सेवा, कार्यक्रम वा अवसरको बारेमा छापा, विद्युतीय माध्यम, अनलाइन, सामाजिक सञ्जाल, होर्डिङ बोर्ड, बेलुन वा कुनै संरचना लगायतका माध्यमबाट सार्वजनिक रुपमा प्रचार प्रसार गरिएको वा प्रचार प्रसार गर्ने उद्देश्यले तयार गरिएको शब्द, वाक्य, चित्र, तस्बिर, सङ्गेत, पोष्टर, पर्चा, प्रकाश, चिन्ह, संरचना वा जुनसुकै किसिमको श्रव्य, दृश्य वा श्रव्यदृश्य सम्झनु पर्छ। |
| (च) "सदस्य" भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले बोर्डको अध्यक्षलाई समेत जनाउँछ। |
| (छ) "होर्डिङ बोर्ड" भन्नाले विज्ञापन प्रदर्शनको लागि राखिएको वा राखिने साधन सम्झनु पर्छ र सो शब्दले डिजिटल डिस्प्ले, चलदृश्य बोर्ड, एलसीडी बोर्ड, लिड बोर्ड, रोलर बोर्ड, ग्लो बोर्ड, नियोन साइन, प्रोजेक्टर, स्टल डिस्प्ले वा यस्तै अन्य प्रविधि वा प्रकारका बाह्य विज्ञापनको साधनलाई समेत जनाउँछ। |
| (ज) "विज्ञापन दाता" भन्नाले आफ्नो पक्षबाट विज्ञापन प्रकाशन, प्रसारण गर्न वा विज्ञापन राख्न लगाउने वा विज्ञापन गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ। |
| (झ) "विज्ञापन एजेन्सी" भन्नाले विज्ञापन सम्बन्धी सामग्री उत्पादन, वितरण वा विज्ञापन सम्बन्धी व्यवसाय गर्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएका फर्म, संस्था वा कम्पनी सम्झनु पर्छ। |
|
|
| --- |
|
|
| ## परिच्छेद-२ |
| **विज्ञापन सम्बन्धी व्यवस्था** |
|
|
| ३. **विज्ञापन गर्न सकिनेः** |
| कसैले आफूले बिक्री वितरण गर्ने वस्तु वा सेबाको गुण वा विशेषता समेत उल्लेख गरी त्यस्ता वस्तु वा सेबाको प्रवर्द्धन गर्न वा उपभोक्ता समक्ष वस्तु वा सेबाको छनोटको जानकारी पुन्याउन वा आफूले आयोजना गरेको कुनै कार्यक्रम वा अवसरको बारेमा जानकारी दिन वा सार्वजनिक हितको लागि कुनै विषयमा जानकारी गराउन यस ऐन तथा प्रचलित कानूनको अधीनमा रही विज्ञापन गर्न वा गराउन सक्नेछ। |
|
|
| ४. **होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमतिपत्र लिनु पर्नेः** |
| (१) सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्ड राख्न र त्यसमा विज्ञापन गर्न चाहने व्यक्तिले सम्बन्धित स्थानीय तहबाट अनुमतिपत्र लिनु पर्नेछ। |
| (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो पेशा वा व्यवसाय गर्ने घर वा कार्यालयको परिसरभित्र सार्वजनिक सडक वा जग्गामा बाधा नपर्ने वा सर्वसाधारणको सुरक्षामा असर नपर्ने गरी आफ्नो पेशा वा व्यवसायका सम्बन्धमा यस ऐनको प्रतिकूल नहुने गरी तोकिएको आकारमा नबढ्ने गरी होर्डिङ बोर्ड राखी विज्ञापन गर्न बाधा पर्ने छैन। |
| (३) उपदफा (१) बमोजिम होर्डिङ बोर्डबाट विज्ञापन गर्न चाहने व्यक्तिले अनुमतिपत्रको लागि सम्बन्धित स्थानीय तहको कार्यालयमा निबेदन दिनु पर्नेछ। |
| (४) उपदफा (३) बमोजिम प्राप्त निबेदन उपर आवश्यक जाँचबुझ गरी स्थानीय तहको कार्यालयले यस ऐन तथा प्रचलित कानून बमोजिम होर्डिङ बोर्डबाट विज्ञापन गर्ने अनुमतिपत्र दिन मनासिब देखेमा अनुमतिपत्र दिनेछ। त्यसरी अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लिखित अवधि समाप्त भएपछि त्यस्तो होर्डिङ बोर्ड हटाउनु पर्नेछ। |
| (५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा होर्डिङ बोर्डबाट त्यस्तो विज्ञापन गर्न अनुमतिपत्र दिन सकिने छैनः- |
| (क) यस ऐन वा प्रचलित कानून प्रतिकूल हुने विज्ञापन भएमा, |
| (ख) सर्वसाधारणलाई आबतजाबत गर्न बाधा वा असुविधा हुने भएमा, |
| (ग) शहर वा स्थानको प्राकृतिक सौन्दर्यमा प्रतिकूल असर पर्ने भएमा, |
| (घ) धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा विश्वसम्पदा सूचीमा सूचिकृत स्थानहरुको मौलिक संस्कृति तथा प्राकृतिक सौन्दर्यमा प्रतिकूल असर पर्ने भएमा, |
| (ङ) सडक पेटी तथा सार्वजनिक स्थानमा प्रतिकूल असर पर्ने भएमा, |
| (च) बिधुत, टेलिफोन लगायतका खम्बामा त्यस्तो बोर्ड राख्ने विषयमा, |
| (छ) सबारी आवागमनमा असर पर्ने भएमा, |
| (ज) कुनै घरको झ्याल, ढोका छेकी त्यस्तो घरमा हावा र घाम आउन बाधा पुग्ने भएमा, |
| (झ) स्थानीय कानूनमा तोकिएको अन्य व्यवस्थाको प्रतिकूल हुने गरी। |
| (६) होर्डिङ बोर्ड राख्ने अनुमतिपत्रको लागि दिने निवेदन, निवेदन साथ संलग्न गर्नु पर्ने विवरण तथा कागजात, दस्तुर तथा त्यस्तो अनुमतिपत्रको अवधि तथा तत्सम्बन्धी अन्य व्यवस्था स्थानीय तहको कानून बमोजिम हुनेछ। |
|
|
| ५. **विज्ञापन गर्न नहुनेः** |
| (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा विज्ञापन गर्न पाइने छैनः- |
| (क) प्रचलित नेपाल कानूनले उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका कुनै बस्तु, पदार्थ वा सेबाको उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा, |
| (ख) जुबा खेल्न खेलाउन वा प्रचलित कानून बमोजिम अनुमति नलिएको चिह्ना किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा, |
| (ग) प्रचलित कानून बमोजिम अश्लिल मानिने विषय वा तत्सम्बन्धी अन्य विषय, वस्तु वा सेबाको उपयोग वा प्रयोग गर्न वा प्रवर्द्धन गर्न प्रोत्साहन गर्ने विषयमा, |
| (घ) हतियार वा विष्फोटक पदार्थ वा नेपालको सुरक्षा, शान्ति र व्यवस्थामा खतरा उत्पन्न गर्न सक्ने अन्य यस्तै वस्तु वा पदार्थको उत्पादन, बिक्री, वितरण, उपयोग वा प्रयोग गर्न प्रोत्साहन गर्ने विषयमा, |
| (ङ) चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधिहरुको विषयमा, |
| (च) नेपालमा बिक्री, वितरण वा प्रयोगको लागि प्रचलित कानून बमोजिम अनुमति लिनु पर्नेमा त्यस्तो अनुमति प्राप्त भइनसकेको बस्तु वा सेबाको विषयमा, |
| (छ) प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा, |
| (ज) विद्यालय तथा विश्वविद्यालयको पाठ्यपुस्तकमा, |
| तर शैक्षिक जानकारी दिने विषय उल्लेख गर्न बाधा पर्ने छैन। |
| (झ) अन्धविश्वासलाई प्रोत्साहन हुने विषयमा। |
| (२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम हुने गरी विज्ञापन गर्न पाइने छैनः- |
| (क) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता वा सड्खीय इकाइबीचको सुसम्बन्ध, सार्वजनिक शान्ति, सुव्यवस्था वा अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुन्याउने गरी, |
| (ख) राज्यद्रोह, अदालतको अवहेलना वा अपराध गर्न दुरुत्साहन गर्ने गरी, |
| (ग) नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, नेपालको निशान छाप वा त्यसको कुनै वा सबै भाग वा राष्ट्रिय विभूतिको प्रयोग गरी वा त्यसको अवमूल्यन हुने गरी, |
| (घ) गाली बेइज्जती हुने गरी, |
| (ड) सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी, |
| (च) श्रमप्रति अवहेलना गर्ने, लैशिक बिभेद एवं जातीय छुबाछूतलाई दुरुत्साहन गर्ने गरी, |
| (छ) धर्म, वर्ण, लिङ्ग, जात, जाति वा समुदायबीचको सुसम्बन्धमा खलल पार्ने वा आर्थिक अवस्था, भाषा, क्षेत्र, बैचारिक आस्था वा अपाइता लगायतका कुनै पनि आधारमा बिभेद हुने गरी, |
| (ज) ट्रेडमार्क, पेटेण्ट, डिजाइन लगायतका औद्योगिक सम्पत्तिको हकबालाको अनुमति वा स्वीकृति बिना प्रयोग गरी, |
| (झ) स्वदेशी वा अन्य कुनै उत्पादनलाई हतोत्साहित र निरुत्साहित गर्ने गरी, |
| (अ) भ्रम वा अफबाह फैलाउने, उत्तेजना फैलाउने वा अन्य यस्तै अमर्यादित व्यवहार गर्ने गरी, |
| (ट) स्वच्छ् प्रतिस्पर्धामा प्रतिकूल असर पार्ने गरी, |
| (ठ) अरूको उत्पादन वस्तु वा सेबासँग तुलना गरी त्यस्तो उत्पादन वस्तु वा सेबालाई कमसल वा नराम्रो देखाउने गरी, |
| (ड) कानून बमोजिम गोप्य रहेका विषयमा जानकारी गराउने गरी, र |
| (ढ) प्रचिलत कानून प्रतिकूल हुने गरी। |
| (३) कसैले पनि निर्बाचनको स्वच्छतामा प्रतिकूल असर पार्ने गरी वा निर्बाचनमा अबरोध गर्ने गरी विज्ञापन गर्न गराउन पाइने छैन। |
|
|
| ६. **विज्ञापनरहित र प्रसारण गर्नु पर्नेः** |
| (१) नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ। |
| (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्ग गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले यस ऐन प्रारम्भ भएको एक बर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ। |
| (३) विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिड् गरी प्रसारण गर्न पाइने छैन। |
| (४) विज्ञापनरहित प्रसारण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ। |
|
|
| ७. **विज्ञापन गर्न निषेधित क्षेत्र घोषणा गर्न सक्नेः** |
| (१) स्थानीय तहले बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा कुनै धार्मिक, सांस्कृतिक वा पुरातात्त्विक स्थल, शैक्षिक वा स्वास्थ्य संस्था वा त्यस्तो स्थल वा संस्थाबाट निश्चित दुरीभित्र सबै प्रकार वा विषयका वा कुनै खास प्रकार वा विषयमा विज्ञापन गर्न नपाउने गरी विज्ञापन निषेधित क्षेत्र घोषणा गर्न सक्नेछ। त्यसरी निषेधित क्षेत्र घोषणा गरेको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ। |
| (२) उपदफा (१) बमोजिमको निषेधित क्षेत्रमा त्यसरी निषेध गरिएको प्रकार वा विषयका विज्ञापन गर्न पाइने छैन। |
|
|
| ८. **खास समय निर्धारण गर्न सक्नेः** |
| (१) बोर्डले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी रेडियो, टेलिभिजन वा अनलाइन वा यस्तै बिघुतीय सञ्चार माध्यमबाट प्रसारण वा प्रकाशन हुने कुनै खास विषयका विज्ञापनको लागि त्यस्तो विज्ञापन प्रसारण गर्ने वा प्रकाशन गर्ने समयावधि निर्धारण गर्न सक्नेछ। |
| (२) उपदफा (१) बमोजिम निर्धारण गरिएको समयावधि बाहेकको अन्य समयमा त्यस्ता विषयको विज्ञापन प्रसारण वा प्रकाशन गर्न पाइने छैन। |
|
|
| ९. **विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देश उल्लेख गर्नु पर्नेः** |
| (१) विज्ञापनमा जसको तर्फबाट विज्ञापन गरिने हो त्यस्तो व्यक्तिको नाम, ठेगाना स्पष्ट रुपले उल्लेख हुनु पर्नेछ। |
| (२) विज्ञापन गरिएको वस्तु वा सेबाको प्रयोग गर्दा हुन सक्ने असर वा अबलम्बन गर्नु पर्ने सचेतनाको विषयमा विज्ञापनमा उपयुक्त तवरले चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु पर्नेछ। |
|
|
| १०. **मन्जुरी नलिई इमेल वा एस एम एस बाट विज्ञापन गर्न नहुनेः** |
| (१) सम्बन्धित व्यक्तिको मन्जुरी बिना कसैको इमेल वा मोबाइलमा इमेल वा एस.एम.एस.बाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन। |
| (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सार्वजनिक हितको लागि जानकारीमूलक सूचना प्रवाह गर्न वा विपद्को अवस्थामा पूर्वसूचना वा जानकारी पठाउन सम्बन्धित व्यक्तिको मन्जुरी नभए पनि बाधा पर्ने छैन। |
|
|
| ११. **प्रचलित कानूनले निर्धारण गरेको प्रक्रिया र मापदण्ड पालना गर्नु पर्नेः** |
| प्रचलित कानूनले कुनै खास प्रकारको वस्तु वा सेबाको विज्ञापनको लागि कुनै खास प्रक्रिया, शर्त वा मापदण्ड पालना गर्नु पर्ने गरी निर्धारण गरेकोमा यस ऐनमा लेखिएको विषयको अतिरिक्त त्यस्तो कानूनले निर्धारण गरेको प्रक्रिया, शर्त वा मापदण्ड समेत पालना गर्नु पर्नेछ। |
|
|
| १२. **आधिकारिक रुपमा जानकारी नभई विज्ञापन गर्न नहुनेः** |
| (१) विज्ञापन प्रकाशन वा प्रसारण गर्ने बिघुतीय, अनलाइन, छापा वा सञ्चारका माध्यमले वा सामाजिक सञ्जालको माध्यमबाट विज्ञापन गर्ने व्यक्ति वा संस्थाले विज्ञापनकर्ताको नाम, टेगाना आधिकारिकताको बारेमा जानकारी नभई विज्ञापन गर्न गराउन हुँदैन। |
| (२) कुनै विज्ञापनको विषयमा बिबाद उत्पन्न भई त्यस्तो विज्ञापनकर्ताको नाम, टेगाना पत्ता लाग्न नसकेको अवस्थामा त्यस्तो विज्ञापन प्रकाशन गर्ने संस्था वा व्यक्ति नै जिम्मेबार हुनेछ। |
|
|
| १३. **निःशुल्क वा सहुलियत दरमा विज्ञापन गर्नु पर्नेः** |
| मन्त्रालय, प्रदेश सरकार वा स्थानीय तहबाट बिपद्को समयमा सर्वसाधारणको हित वा जानकारीको लागि प्रवाह गरिने सूचना वा विज्ञापन सञ्चार माध्यमले निःशुल्क वा सहुलियत दरमा प्रकाशन वा प्रसारण गर्नु पर्नेछ। |
|
|
| --- |
|
|
| ## परिच्छेद-३ |
| **विज्ञापन बोर्ड सम्बन्धी व्यवस्था** |
|
|
| १४. **विज्ञापन बोर्डको गठनः** |
| (१) विज्ञापनको नियमन सम्बन्धी काम गर्नको लागि देहाय बमोजिमको एक विज्ञापन बोर्डको गठन हुनेछः- |
| (क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति - अध्यक्ष |
| (ख) सहसचिब, गृह मन्त्रालय - सदस्य |
| (ग) सहसचिब, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य |
| (घ) सहसचिब, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय - सदस्य |
| (ङ) विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण/वितरण गर्ने संघ संस्थाहरुमध्येबाट मन्त्रालयले मनोनयन गरेको संस्थाको प्रतिनिधि दुईजना - सदस्य |
| (च) उपभोक्ता हक, हितको क्षेत्रमा वा आमसञ्चारको क्षेत्रमा कम्तीमा दश बर्ष अनुभवप्राप्त व्यक्तिहरुमध्येबाट मन्त्रालयले मनोनयन गरेका कम्तीमा एकजना महिला सहित तीनजना - सदस्य |
| (२) बोर्डको बरिष्ठ कर्मचारीमध्येबाट बोर्डले तोकेको कर्मचारीले बोर्डको सचिव भई काम गर्नेछ। |
| (३) उपदफा (१) को खण्ड (च) बमोजिमका सदस्यहरुको मनोनयन गर्दा समावेशी सिद्धान्तको आधारमा गर्नु पर्नेछ। |
| (४) अध्यक्षको पदमा नियुक्तिका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयको एकजना विज्ञ सदस्य र मन्त्रालयको सहसचिव सदस्य-सचिव रहेको एक सिफारिस समिति रहनेछ। सो समितिले दफा १७ बमोजिमको योग्यता पुगेका व्यक्तिहरुमध्येबाट तोकिए बमोजिम खुला प्रतिस्पर्धाबाट उपयुक्त व्यक्ति छुनेाट गरी नियुक्तिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ। |
| (५) उपदफा (१) को खण्ड (ङ) र (च) बमोजिमका सदस्यको पदावधि चार बर्षको हुनेछ। |
| (६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यको काम सन्तोषजनक नदेखिएमा वा बोर्डको हित विपरित हुने कुनै काम गरेमा वा खराब आचरण भएमा वा कार्यसम्पादन नगरी निष्क्रिय भएमा पदावधि पूरा नहुँदै मन्त्रालयले त्यसको कारण खुलाई निजलाई पदमुक्त गर्न सक्नेछ। |
| (७) उपदफा (६) बमोजिम कुनै सदस्यलाई पद मुक्त गर्नु अघि निजलाई सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ। |
|
|
| १५. **बोर्डको काम, कर्तव्य र अधिकारः** |
| यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- |
| (क) विज्ञापन सम्बन्धमा राष्ट्रिय नीति तय गरी मन्त्रालयमा सिफारिस गर्ने, |
| (ख) सञ्चार माध्यमबाट प्रसारण गरिने विज्ञापनको सामग्री परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने, |
| (ग) विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचार संहिता बनाउने, |
| (घ) मुलुकको आवश्यकता अनुसार राष्ट्रिय हित, सार्वजनिक हित सम्बन्धी विज्ञापन निर्माण गरी प्रकाशन तथा प्रसारण गर्न प्रोत्साहन गर्ने, |
| (ङ) नभए वा नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा यस ऐन विपरीत विज्ञापन गरिए वा नगरिएको अनुगमन गर्ने वा गराउने, |
| (च) विदेशी च्यानलहरूबाट विज्ञापनरहित प्रसारण भए वा नभएको अनुगमन गरी कारबाही गर्ने, |
| (छ) नेपाल सरकार, विज्ञापन एजेन्सी, विज्ञापनदाता, सञ्चारमाध्यम तथा सरकारी निकायबीच समन्वय गर्ने, |
| (ज) विज्ञापन व्यवसाय र व्यवसायीको योग्यता र क्षमता विकास गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमा सिफारिस गर्ने, |
| (झ) उपभोक्ता सजगता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, गराउने, |
| (ज) विज्ञापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गर्ने, |
| (ट) विज्ञापन उत्पादक, निर्माता, वितरक वा प्रसारकलाई आवश्यक निर्देशन दिने, |
| (ट) सञ्चार माध्यमहरुलाई नेपाल सरकारबाट उपलव्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा बोर्ड मार्फत समानुपातिक रुपमा वितरण गर्ने, |
| (ड) तोकिए बमोजिमका अन्य कार्य गर्ने। |
|
|
| १६. **बोर्डको बैठक र निर्णयः** |
| (१) बोर्डको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ। |
| (२) बोर्डको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ। |
| (३) बोर्डको कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ। |
| (४) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ। |
| (५) बैठकको निर्णय अध्यक्ष र सचिबले प्रमाणित गरी राख्नु पर्नेछ। |
| (६) बोर्डले आवश्यक देखेमा सम्बन्धित विषयका विज्ञलाई बोर्डको बैठकमा आमन्त्रण गर्न सक्नेछ। |
| (७) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ। |
|
|
| १७. **अध्यक्षको योग्यताः** |
| देहायको व्यक्ति अध्यक्षको पदमा नियुक्त हुन योग्य मानिनेछः- |
| (क) नेपाली नागरिक, |
| (ख) आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दश बर्षको अनुभव प्राप्त गरेको, |
| (ग) पैंतीस वर्ष उमेर पूरा भएको, |
| (घ) कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको, |
| (ड) कुनै कानूनले अयोग्य नभएको। |
|
|
| १८. **अध्यक्षको पारिश्रमिक, सेवाको शर्त तथा काम, कर्तव्य र अधिकारः** |
| (१) अध्यक्ष बोर्डको कार्यकारी प्रमुख हुनेछ। |
| (२) अध्यक्षको पदाबधि चार बर्षको हुनेछ। |
| (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजको काम सन्तोषजनक नदेखिएमा वा बोर्डको हित बिपरीत हुने कुनै काम गरेमा वा खराब आचरण भएमा वा कार्यसम्पादन नगरी निष्क्रिय भएमा पदाबधि पूरा नहुँदै नेपाल सरकारले कारण खुलाई जुनसुकै बखत पदमुक्त गर्न सक्नेछ। |
| (४) उपदफा (३) बमोजिम अध्यक्षलाई पदमुक्त गर्नुअघि सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ। |
| (५) अध्यक्षको पारिश्रमिक तथा अन्य सुबिधा नेपाल सरकारले तोके बमोजिम हुनेछ। |
| (६) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः- |
| (क) बोर्डको दैनिक प्रशासनिक कार्य गर्ने, |
| (ख) बोर्डको बैठकको कार्यसूची तयार गर्ने, |
| (ग) बोर्डको बैठकको निर्णयहरू कार्यान्वयन गर्ने, गराउने, |
| (घ) बोर्डको नीति कार्यक्रमहरूको मस्यौदा तयार गर्ने, |
| (ङ) बोर्डको बजेट खर्च गर्ने, खर्चको लेखा राख्ने र लेखापरीक्षण गराउने, |
| (च) बोर्डको कर्मचारी प्रशासनको कार्य गर्ने, |
| (छ) बोर्डको बार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने, |
| (ज) बोर्डले अधिकार प्रत्यायोजन गरेका अन्य कार्य गर्ने। |
|
|
| १९. **अध्यक्षको पद रिक्त हुने अवस्थाः** |
| देहायको अवस्थामा अध्यक्षको पद रिक्त हुनेछ :- |
| (क) निजको पदाबधि समाप्त भएमा, |
| (ख) निजको उमेर पैंसट्टी बर्ष पूरा भएमा, |
| (ग) निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा, |
| (घ) निजले राजीनामा दिएमा, |
| (ङ) निजको मृत्यु भएमा, |
| (च) नेपाल सरकारले दफा १८ को उपदफा (३) बमोजिम पदमुक्त गरेमा। |
|
|
| २०. **बोर्डको कार्यालय र कर्मचारीः** |
| (१) बोर्डको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ। |
| (२) बोर्डको कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी मन्त्रालयले उपलब्ध गराउनेछ। मन्त्रालयले कर्मचारी उपलब्ध गराउन नसकेको अवस्थामा बोर्डले तोकिए बमोजिम सेवा करारमा कर्मचारी राख्न सक्नेछ। |
| (३) उपदफा (२) बमोजिम करारमा राखिने कर्मचारीको पारिश्रमिक तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछ। |
|
|
| --- |
|
|
| ## परिच्छेद-४ |
| **बोर्डको कोष तथा लेखापरीक्षण** |
|
|
| २१. **बोर्डको कोषः** |
| (१) बोर्डको एउटा छुट्टै कोष रहनेछ। |
| (२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्:- |
| (क) नेपाल सरकारबाट प्राप्त रकम, |
| (ख) बोर्ड मार्फत् विज्ञापन वितरण गर्न नेपाल सरकारले छुट्याएको कुल बजेटको तीन प्रतिशत रकम, |
| तर विज्ञापन वितरणमा खर्च हुन नसकेको रकमबाट त्यस्तो रकम कट्ठा गर्न पाइने छैन। |
| (३) बोर्डको कोषको रकम कुनै बाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ। |
| (४) बोर्डको सबै खर्चहरू उपदफा (१) बमोजिमको कोषबाट ब्यहोरिनेछ। |
| (५) नेपाल सरकार वा सरकारी निकायबाट कोषमा विज्ञापनको लागि प्राप्त रकममध्ये विज्ञापनको लागि खर्च भई प्रत्येक आर्थिक बर्षको अन्त्यमा कोषमा बचत भएको रकम नेपाल सरकारले प्रचलित कानून बमोजिम खर्च गर्न सक्नेछ। |
| (६) बोर्डको कोष र खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ। |
|
|
| २२. **कोषको लेखापरीक्षणः** |
| (१) बोर्डको आय-ब्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ। |
| (२) बोर्डको लेखाको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ। |
|
|
| --- |
|
|
| ## परिच्छेद-५ |
| **प्रदेश तथा स्थानीय तहका सञ्चार माध्यमबाट हुने विज्ञापनको नियमन** |
|
|
| २३. **प्रदेशस्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापनको अनुगमन तथा नियमनः** |
| (१) प्रचलित कानून बमोजिम प्रदेश सरकारबाट अनुमति प्राप्त गरी सञ्चालन भएका छापा वा बिघुतीय सञ्चार माध्यमबाट हुने वा भएका विज्ञापनमा यस ऐन तथा प्रचलित कानून बमोजिमको मापदण्ड पूरा गरे नगरेको विषयको अनुगमन तथा नियमनको काम प्रदेश कानून बमोजिम सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयले गर्नेछ। |
| (२) उपदफा (१) को प्रयोजनको लागि सम्बन्धित प्रदेशमा सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयको सचिबको अध्यक्षतामा एक अनुगमन तथा नियमन समिति रहनेछ। अनुगमन तथा नियमन समितिमा अध्यक्षको अतिरिक्त समावेशी सिद्धान्तको आधारमा प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका बढीमा छजना सदस्य रहने छन्। |
| (३) उपदफा (२) बमोजिमको समितिले अनुगमन गर्दा कसैले विज्ञापन गर्दा यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना गरेको नपाइएमा कारण उल्लेख गरी त्यस्तो विज्ञापन संशोधन गर्न, बन्द गर्न वा हटाउन आदेश दिनेछ। त्यसरी दिएको आदेशको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ। |
| (४) उपदफा (३) बमोजिमको आदेशको पालना नगर्ने वा यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना नगरी विज्ञापन गर्ने व्यक्तिलाई उपदफा (२) बमोजिमको समितिले बढीमा एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ। अनुगमनको क्रममा कसैले विज्ञापन गर्दा यो ऐन बमोजिम कसूर हुने काम गरेको पाइएमा त्यस्तो व्यक्तिलाई यस ऐन बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनेछ। |
| (५) उपदफा (२) बमोजिमको समितिको अन्य काम, कर्तव्य र अधिकार यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको प्रतिकूल नहुने गरी सम्बन्धित प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुनेछ। |
|
|
| २४. **स्थानीय स्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापन तथा होर्डिङ बोर्डको अनुगमन तथा नियमनः** |
| (१) होर्डिङ बोर्ड वा प्रचलित कानून बमोजिम स्थानीय तहबाट अनुमति प्राप्त गरी स्थानीय स्तरमा सञ्चालन भएका छापा वा बिघुतीय सञ्चार माध्यमबाट हुने वा भएका विज्ञापनमा यस ऐन तथा प्रचलित कानून बमोजिमको मापदण्ड पूरा गरे नगरेको विषयको अनुगमन तथा नियमनको काम सम्बन्धित स्थानीय तहले गर्नेछ। |
| (२) उपदफा (१) को प्रयोजनको लागि स्थानीय तहले आवश्यक कानूनी व्यवस्था मिलाउनेछ। |
| (३) उपदफा (१) बमोजिम अनुगमन गर्दा कसैले विज्ञापन गर्दा यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना गरेको नपाइएमा वा अनधिकृत रुपमा होर्डिङ बोर्ड राखेको पाइएमा कारण उल्लेख गरी त्यस्तो विज्ञापन संशोधन गर्न, बन्द गर्न वा हटाउन आदेश दिनेछ। त्यसरी दिएको आदेशको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ। |
| (४) उपदफा (१) बमोजिम अनुगमन गर्दा यो ऐन वा यस ऐन बमोजिम बनेको नियम वा मापदण्ड पालना नगरी विज्ञापन गर्ने व्यक्ति वा अनधिकृत रुपमा होर्डिङ बोर्ड राख्ने वा त्यसमा विज्ञापन गर्ने व्यक्तिलाई स्थानीय तहको न्यायिक समितिको आदेशले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ। अनुगमनको क्रममा कसैले विज्ञापन गर्दा यो ऐन बमोजिम कसूर हुने काम गरेको पाइएमा त्यस्तो व्यक्तिलाई यस ऐन बमोजिम कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउनेछ। |
| (५) स्थानीय स्तरका सञ्चार माध्यमबाट गरिने विज्ञापन तथा होर्डिङ बोर्डको अनुगमन तथा नियमन सम्बन्धी अन्य व्यवस्था यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको प्रतिकूल नहुने गरी सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुनेछ। |
|
|
| --- |
|
|
| ## परिच्छेद-६ |
| **कसूर र सजाय** |
|
|
| २५. **कसूर र सजायः** |
| (१) कसैले यस ऐनको दफा ४ को उपदफा (१), दफा ५, ६, ७, ९, १०, ११ वा १२ विपरीत विज्ञापन गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ। |
| (२) कसैले दफा ४ को उपदफा (१) वा (२) प्रतिकूल हुने गरी गरेको कसूरमा त्यस्तो कसूर गर्ने गराउनेलाई सो कसूर गरे बापत प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोही बमोजिम सजाय गर्नु पर्नेछ र सो नभएमा एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना गर्नु पर्नेछ। |
| (३) कसैले देहायको कसूर गरेमा देहाय बमोजिम सजाय हुनेछः- |
| (क) दफा ४ को उपदफा (१) बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना, |
| (ख) दफा ६ बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना। |
| (ग) ऐनको दफा ७, ९, १०, ११ वा १२ बमोजिमको कसूर गर्ने गराउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना। |
| (४) आमसञ्चारको माध्यमबाट यस ऐन विपरीत कुनै विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण भएकोमा त्यस्तो सञ्चार माध्यमको सम्पादन सम्बन्धी कार्यभार सम्हाल्ने सम्पादकलाई सोही कारणले मात्र यस ऐन बमोजिम सजाय गरिने छैन। |
| तर त्यस्तो सम्पादक नै आमसञ्चार माध्यमको सञ्चालक भएकोमा यस दफा बमोजिम सजाय गर्न बाधा पर्ने छैन। |
|
|
| --- |
|
|
| ## परिच्छेद-७ |
| **विविध** |
|
|
| २६. **सूचीकृत हुनुपर्नेः** |
| (१) विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम तथा विज्ञापन एजेन्सी तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनु पर्नेछ। |
| (२) यो दफा प्रारम्भ हुँदाका बखत कायम रहेका विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम यो दफा प्रारम्भ भएको मितिले एक बर्षभित्र उपदफा (१) बमोजिम सूचीकृत हुनु पर्नेछ। |
| (३) सूचीकृत सञ्चार माध्यम तथा एजेन्सीको बर्गीकरण तोकिए बमोजिम हुनेछ। |
|
|
| २७. **उजुरी गर्न सक्नेः** |
| (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा मापदण्ड बिपरीत कसैले विज्ञापन गरेको पाइएमा त्यसको जानकारी जुनसुकै व्यक्तिले बोर्ड वा दफा २३ को उपदफा (२) बमोजिमको समिति वा स्थानीय तहमा दिन सक्नेछ। |
| (२) उपदफा (१) बमोजिम प्राप्त जानकारीको आधारमा बोर्ड, समिति वा स्थानीय तहलाई आफै कारबाही गर्ने अधिकार भएकोमा आफैले र आफ्नो अधिकार क्षेत्र नभएकोमा अधिकार भएको बोर्ड, समिति वा स्थानीय तहमा कारबाहीको लागि पठाउनु पर्नेछ। |
| (३) उपदफा (१) बमोजिम प्राप्त उजुरी उपर भएको कारबाहीको जानकारी उजुरीकर्ताले नाम ठेगाना उल्लेख गरी उजुरी दिएको भएमा सम्बन्धित बोर्ड, समिति वा स्थानीय तहले त्यस्तो उजुरीकर्तालाई दिनु पर्नेछ। |
|
|
| २८. **मुद्दा हेर्ने अधिकारीः** |
| (१) दफा २५ को उपदफा (२) बमोजिम प्रचलित कानून अन्तर्गत सजाय हुने मुद्दा त्यस्तो कानूनले तोकेको अदालतबाट सुरु कारबाही, सुनुबाइ र किनारा हुनेछ र त्यस्तो कानून बमोजिम सजायको व्यवस्था नभएको कारण यस ऐन बमोजिम मुद्दा चलाउनु पर्ने भएमा त्यस्तो कसूर सम्बन्धी मुद्दाको सुरु कारबाही, सुनुबाइ र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ। |
| (२) दफा २५ को उपदफा (३) को खण्ड (क) अन्तर्गत सजाय हुने कसूर सम्बन्धी मुद्वाको सुरु कारबाही, सुनुबाइ र किनारा गर्ने अधिकार सम्बन्धित स्थानीय तहको न्यायिक समितिलाई हुनेछ। |
| (३) दफा २५ को उपदफा (३) को खण्ड (ख) र (ग) अन्तर्गत सजाय हुने कसूर सम्बन्धी मुद्वाको सुरु कारबाही, सुनुबाइ र किनारा गर्ने अधिकार बोर्डलाई हुनेछ। |
|
|
| २९. **प्रचलित कानून बमोजिम मुद्दा चलाइनेः** |
| (१) दफा २५ को उपदफा (२) अन्तर्गत सजाय हुने मुद्वाको सम्बन्धमा प्रचलित कानून बमोजिम कसूर हुने भई त्यस्तो कसूरमा प्रचलित कानूनमा कुनै खास पक्षले मुद्दा चलाउने गरी व्यवस्था भएकोमा सोही बमोजिम नै मुद्दा चलाइनेछ। |
| (२) दफा २५ को उपदफा (२) अन्तर्गतको मुद्दामा प्रचलित कानून बमोजिम मुद्दा नचल्ने अवस्था भई यस ऐन बमोजिम मुद्दा चलाउनु पर्दा त्यस्तो मुद्दामा नेपाल सरकार बादी भई चलाइनेछ। सो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ। |
|
|
| ३०. **क्षतिपूर्ति सम्बन्धी व्यवस्थाः** |
| (१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बिपरीत विज्ञापन गरेबाट कसैलाई कुनै किसिमको क्षति भएमा वा कुनै गम्भीर असर परेमा वा सर्जक वा स्रष्टाको अनुमति वा स्वीकृति नलिई निजको सिर्जनालाई विज्ञापनमा प्रयोग गरेको पाइएमा त्यसबाट मर्का पर्ने पक्षले क्षतिपूर्तिको लागि बोर्ड समक्ष निवेदन दिन सक्नेछ। |
| (२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा बोर्डले सो निवेदन उपर जाँचबुझ गर्दा क्षति पुगेको देखिएमा त्यस्तो निवेदकलाई विज्ञापनकर्ताबाट मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु पर्नेछ। |
|
|
| ३१. **पुनरावेदनः** |
| यस ऐन बमोजिमको मुद्दामा निर्णयको जानकारी पाएको मितिले पैतीस दिनभित्र देहाय बमोजिमका अदालतमा पुनरावेदन लाग्नेछ:- |
| (क) जिल्ला अदालतले सुरु कारबाही र किनारा गरेको निर्णय उपर सम्बन्धित उच्च अदालतमा, |
| (ख) बोर्डले गरेको निर्णय उपर जिल्ला अदालतमा, |
| (ग) अनुगमन तथा नियमन समिति तथा स्थानीय तहले गरेको निर्णय उपर सम्बन्धित जिल्ला अदालतमा। |
|
|
| ३२. **बोर्ड मार्फत विज्ञापन गर्नु पर्नेः** |
| (१) नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका निकायले लोक कल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्दा बोर्ड मार्फत गर्नु पर्नेछ र त्यस्तो विज्ञापन बापतको रकम बोर्ड मार्फत खर्च गर्नु पर्नेछ। |
| (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका निकायहरुले कुनै विज्ञापन वा सूचना तत्काल प्रकाशन गर्नु पर्ने अवस्था भएमा विज्ञापन वा सूचनाको एक प्रति बोर्डलाई उपलब्ध गराई सो बापतको रकम बोर्ड मार्फत् भुक्तानी गर्ने गरी कुनै पनि माध्यमबाट विज्ञापन वा सूचना प्रकाशन गर्न बाधा पर्ने छैन। |
|
|
| ३३. **उपसमिति वा कार्यदल गठन गर्न सक्नेः** |
| (१) बोर्डले आफ्नो कार्यमा सहयोग पुन्याउन आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ। |
| (२) उपदफा (१) बमोजिमको उपसमिति वा कार्यदलको काम, कर्तव्य, अधिकार र कार्याबधि त्यस्तो उपसमिति वा कार्यदल गठन गर्दाका बखत बोर्डले तोके बमोजिम हुनेछ। |
|
|
| ३४. **अधिकार प्रत्यायोजनः** |
| बोर्डले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अध्यक्ष वा सदस्य वा बोर्डको कुनै कर्मचारी, दफा २३ को उपदफा (२) बमोजिमको अनुगमन तथा नियमन समिति वा दफा ३३ बमोजिमको उपसमिति वा कार्यदल वा नेपाल सरकारको कुनै निकायलाई प्रत्यायोजन गर्न सक्नेछ। |
|
|
| ३५. **निर्देशन दिन सक्नेः** |
| मन्त्रालयले विज्ञापनलाई व्यवस्थित वा नियमन गर्ने सम्बन्धमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ, र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ। |
|
|
| ३६. **नियम बनाउने अधिकारः** |
| यस ऐनको उद्देश्य प्राप्त गर्नका लागि नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ। |
|
|
| ३७. **मापदण्ड निर्धारण गर्न सक्नेः** |
| यस ऐनको कार्यान्वयनको लागि यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावलीको अधीनमा रही बोर्डले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ। त्यस्तो मापदण्ड लागू गर्नुभन्दा अघि बोर्डले उपयुक्त माध्यमबाट सार्वजनिक गर्नु पर्नेछ। |