nepal-section-wise-act-datasets / section_11_pdf_9.txt
ranjitraut's picture
Add files using upload-large-folder tool
dcdfd40 verified
# नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०४४
## लालमोहर र प्रकाशन मिति
२०४४।११।२७
### संशोधन गर्ने ऐन
प्रमाणीकरण र प्रकाशन मिति
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६
२०६६।१०।७
२. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७४
२०७४।११।१९
३. नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९, २०७९।४।४
२०४४ सालको ऐन नं. २३
---
### प्रस्तावनाः
नेपाल इन्जिनियरिङ व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित तथा बैज्ञानिक ढङ्गले परिचालन गर्न तथा इन्जिनियरहरूको योग्यता अनुसार नाम दर्ता गर्ने समेतको व्यवस्था गर्नको लागि नेपाल इन्जिनियरिङ परिषद्को व्यवस्था गर्न बाञ्छुनीय भएकोले,
श्री ४ महाराजाधिराज वीरन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ।
---
## परिच्छेद - १
### प्रारम्भिक
**१. संक्षिप्त नाम र प्रारम्भः**
(१) यस ऐनको नाम "नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०४४" रहेको छ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ।
**२. परिभाषाः**
विषय बा प्रसँगले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) "परिषद्" भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल इन्जिनियरिङ परिषद् सम्झनु पर्छ।
(ख) "अध्यक्ष" भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ।
(ख१) "उपाध्यक्ष" भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ।
(ग) "सदस्य" भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष र सदस्य-सचिब समेतलाई जनाउँछ।
(घ) "इन्जिनियर" भन्नाले परिषद्वाट मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोपाधि प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।
(ङ) "इन्जिनियरिङ व्यवसाय" भन्नाले अनुसूचीमा उल्लिखित विषयमा प्राविधिक ज्ञान तथा दक्षता हासिल गरेका इन्जिनियरहरूले अपनाउने व्यवसाय सम्झनु पर्छ।
(च) "दर्ता किताब" भन्नाले दफा १४ बमोजिम तयार गरिएको दर्ता किताब सम्झनु पर्छ।
(छ) "दर्ताबाला इन्जिनियर" भन्नाले दर्ता किताबमा नाम दर्ता भएको इन्जिनियर सम्झनु पर्छ।
(ज) "रजिष्ट्रा" भन्नाले दफा २७ बमोजिम नियुक्त गरिएको व्यक्ति सम्झनु पर्छ।
(झ) "समिति" भन्नाले दफा १४ बमोजिम गठित परीक्षा समिति सम्झनु पर्छ।
(ज) "तोकिएको" बा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको बा तोकिए बमोजिम सम्झनु पर्छ।
---
## परिच्छेद - २
### परिषद्को स्थापना गठन, काम, कर्तव्य र अधिकार
**३. परिषद्को स्थापना:**
(१) इन्जिनियरिङ व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित तथा बैज्ञानिक ढङ्गले परिचालन गर्न तथा इन्जिनियरको योग्यता अनुसार नाम दर्ता गर्ने समेतको काम गर्नको लागि नेपाल इन्जिनियरिङ परिषद्को स्थापना गरिएको छ।
(२) परिषद्को कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।
(३) परिषद्ले आवश्यकता अनुसार प्रदेशस्तरमा शाखा कार्यालय बा सम्पर्क कार्यालय स्थापना गर्न सक्नेछ।
**४. परिषद् स्वशासित संस्था हुने:**
(१) परिषद् अविच्छिन्न उत्तराधिकारबाला एक स्वशासित र सँगठित संस्था हुनेछ।
(२) परिषद्को सबै काम कारबाहीको लागि आफ्नो छुट्टै छाप हुनेछ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न बा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ।
(४) परिषद्ले व्यक्ति सरह आफनो नामबाट नालिस उजुर गर्न र परिषद् उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ।
**५. परिषद्को गठन:**
(१) दफा ३ बमोजिम स्थापना भएको परिषद् देहाय बमोजिमका सदस्यहरू रहने छन्:
(क) इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा पन्ध्र बर्ष इन्जिनियरिङ व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर - अध्यक्ष
(ख) इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा दश बर्ष इन्जिनियरिङ् व्यवसायमा अनुभव प्राप्त इन्जिनियरहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत इन्जिनियर - उपाध्यक्ष
(ग) इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा सात बर्ष इन्जिनियरिङ् व्यवसायमा अनुभवप्राप्त इन्जिनियरहरू मध्येबाट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तको आधारमा नेपाल सरकारबाट मनोनीत कम्तीमा तीनजना महिला सहित सातजना - सदस्य
(घ) अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसन - सदस्य
(ङ) नेपाल इन्जिनियर्स एशोसिएसनले निर्वाचन गरी पठाएका पाँचजना इन्जिनियरहरू - सदस्य
(च) इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुखहरू मध्ये नेपाल सरकारबाट मनोनीत क्याम्पस प्रमुख एकजना - सदस्य
(छ) प्रतिनिधि, इन्जिनियरिङ, अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय - सदस्य
(छ१) इन्जिनियरिङ विषय अध्ययन, अध्यापन गराउने विश्वविद्यालयहरू मध्येबाट नेपाल सरकारबाट मनोनीत एकजना - सदस्य
(ज) इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा सात बर्ष इन्जिनियरिङ व्यवसायमा अनुभवप्राप्त इन्जिनियरहरू मध्येबाट परिषद्बाट मनोनीत कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(झ) रजिष्ट्रार - सदस्य-सचिब
**६. सदस्यको पदावधिः**
(१) परिषद्मा मनोनीत बा निर्वाचित सदस्यको पदावधि चार वर्षको हुनेछ। पदावधि समाप्त भएका सदस्यहरू यस ऐनमा लेखिएका अन्य व्यवस्थाहरूको अधीनमा रही पुनः मनोनयन हुन बा निर्वाचित हुन सक्ने छन्।
(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा त्यस्तो रिक्त हुन आएको सदस्यको पद बाँकी अवधिको लागि अर्को सदस्यको मनोनयन बा निर्वाचनद्वारा पूर्ति गर्न सकिनेछ।
**७. सदस्यको निमित्त अयोग्यताः**
देहायका कुनै व्यक्ति परिषद्को सदस्य पदमा मनोनीत बा निर्वाचित हुन सक्ने छैन:
(क) गैर नेपाल नागरिक,
(ख) दर्ता किताबबाट नाम हटाइएको,
(ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(घ) भ्रष्टाचार, जवरजस्ती करणी, मानब बेचबिखन तथा ओसारपसार, लागू औषध बिकी बितरण तथा निकासी बा पैटारी, सम्पत्ति शुद्धीकरण, साइबर अपराध, बन्यजन्तु ओसारपसार, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर बा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको बा अन्य कुनै फौजदारी कसूरमा तीन बर्ष बा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
(ड) मानसिक सन्तुलन ठीक नभएको,
(च) कुनै बिदेशी मुलुकको स्थायी आबासीय अनुमति प्राप्त गरेको।
**८. सदस्यता समाप्त हुने अवस्थाः**
देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछ:
(क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ग) परिषद्लाई कारण सहितको पूर्व सूचना नदिई लगातार तीन पटकसम्म परिषद्को बैठकमा अनुपस्थित भएमा,
(घ) मृत्यु भएमा।
**९. परिषद्को काम, कर्तव्य र अधिकार:**
यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
(क) इन्जिनियरिङ व्यवसाय सूचारु रूपबाट संचालन गर्नको लागि आवश्यक नीति, योजना तथा कार्यक्रमहरू तयार गरी त्यसको कार्यान्वयन गर्ने,
(ख) इन्जिनियरिङ शिक्षा दिने शिक्षण संस्था र त्यस्ता संस्थाहरूले प्रदान गरेका प्रमाणपत्र तथा उपाधिहरूलाई तोकिए बमोजिम मान्यता दिने,
(ग) इन्जिनियरिङ व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र योग्यता पुगेका इन्जिनियरको नाम दर्ता गर्ने प्रयोजनका लागि लिइने परीक्षाको पाठ्यक्रम तयार गर्ने, परीक्षा लिने र उत्तीर्ण भएका व्यक्तिलाई नाम दर्ता प्रमाणपत्र प्रदान गर्ने,
(घ) दर्ताबाला इन्जिनियरले तोकिए बमोजिमको व्यवसायिक आचार संहिताको उल्लंघन गरेमा बा पालना नगरेमा तोकिए बमोजिमको कार्यविधि पूरा गरी त्यस्तो इन्जिनियरको नाम परिषद्वाट हटाउने।
(ङ) इन्जिनियरिङ विषय अध्ययन, अध्यापन गराइने शिक्षण संस्थाहरूको पाठ्यक्रम, शैक्षिक मापदण्ड तथा परीक्षा प्रणाली सम्बन्धी नीतिको पुनरावलोकन र मूल्याङ्कन गरी सम्बन्धित विश्वविद्यालय र नेपाल सरकार बा सम्बन्धित प्रदेश सरकारलाई सिफारिस गर्ने,
(च) इन्जिनियरिङ विषय अध्ययन, अध्यापन गराइने शिक्षण संस्थाको विद्यार्थी भर्नाका आधार र शर्तहरू तथा शिक्षण संस्थाको भौतिक पूर्वाधार तोक्ने र अनुगमन तथा मूल्याङ्कन गरी सोको उल्लङ्घन गरेको पाइएमा त्यस्ता शिक्षण संस्थालाई प्रदान गरिएको स्वीकृति रद्द गर्न सम्बन्धित विश्वविद्यालयलाई सिफारिस गर्ने,
(छ) इन्जिनियरिङ व्यवसायीको हक, हित अभिवृद्धि गर्न अध्ययन, अनुसन्धान, गोष्ठी तथा अन्य आवश्यक कार्यक्रम गर्ने, र
(ज) इन्जिनियरलाई व्यावहारिक अनुभव दिलाउन तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने।
**१०. परिषद्को बैठक र निर्णय:**
(१) परिषद्को बैठक साधारणतया वर्षमा चार पटक बस्नेछ। तर अध्यक्षले चाहेमा सो भन्दा बढी पटक पनि बैठक बोलाउन सक्नेछ।
(२) परिषद्को बैठक अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ।
(३) परिषद्को कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ।
(४) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ। अध्यक्ष तथा उपाध्यक्ष दुवैको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरूले आफू मध्येबाट छानेको व्यक्तिले बैठकको अध्यक्षता गर्नेछ।
(५) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिन सक्नेछ।
(६) परिषद्को निर्णय सदस्य-सचिबद्वारा प्रमाणित गरिनेछ।
(७) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ।
---
## परिच्छेद - ३
### नाम दर्ता सम्बन्धी व्यवस्था
**११. नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गर्न नहुने:**
(१) परिषद्मा नाम दर्ता नगराई कुनै पनि व्यक्तिले इन्जिनियरिङ व्यवसाय गर्न हुँदैन।
(२) यस ऐन बमोजिम परिषद्मा इन्जिनियरको नाम दर्ता गर्दा इन्जिनियरलाई तोकिए बमोजिम वर्गीकरण गर्न सकिनेछ।
**१२. नाम दर्ताको लागि दरखास्त दिनेः**
(१) परिषद्मा नाम दर्ता गराउन चाहने व्यक्तिले तोकिए बमोजिमको ढाँचामा परिषद् समक्ष दरखास्त दिनु पर्नेछ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत इन्जिनियरिङ व्यवसाय गरिरहेको व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले छ महिना भित्र परिषद्मा नाम दर्ता गराउनको लागि उपदफा (१) बमोजिम दरखास्त दिनु पर्नेछ।
(३) उपदफा (१) बा (२) बमोजिम नाम दर्ता गराउन दरखास्त दिने व्यक्तिले दरखास्त साथ शिक्षण संस्थाबाट प्राप्त गरेको प्रमाणपत्र, उपाधि तथा तत्सम्बन्धी अन्य कागजात तथा तोकिए बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ।
**१३. दरखास्त उपर छानबिन:**
(१) दफा १२ बमोजिम दर्ता हुन आएका दरखास्तमा रजिष्ट्रारले आवश्यक छानबिन गरी यस ऐन बमोजिमको मापदण्ड पूरा गरेको देखिएमा सम्बन्धित दरखास्तबालाको नाम इन्जिनियरिङ व्यवसायी दर्ता परीक्षा सञ्चालन गर्ने प्रयोजनको लागि समिति समक्ष पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम छानबिन गर्दा कुनै कुरा अस्पष्ट भएमा रजिष्ट्रारले सो विषयमा सम्बन्धित दरखास्तबालासँग आवश्यक प्रमाण बा कागजात माग गर्न सक्नेछ।
**१४. परीक्षा समिति गठन:**
(१) परिषद्मा इन्जिनियरिङ व्यवसायीको रूपमा नाम दर्ता गर्ने प्रयोजनका लागि परीक्षा सञ्चालन गर्न देहाय बमोजिमको परीक्षा समिति रहनेछ:
(क) परिषद्ले तोकेको सदस्य - संयोजक
(ख) परिषद्ले तोकेको परिषद्का एकजना महिला सहित तीनजना सदस्य - सदस्य
(ग) रजिष्ट्रार - सदस्य-सचिव
(२) परिषद्मा इन्जिनियरिङ व्यवसायीको रूपमा नाम दर्ता गर्नको लागि समितिले कम्तीमा वर्षको दुई पटक तोकिए बमोजिम परीक्षा सञ्चालन गर्नेछ।
(३) उपदफा (१) बमोजिमको परीक्षाको पाठ्यक्रम र परीक्षा सञ्चालन प्रणाली परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ।
(४) समितिले आवश्यक ठानेमा विषयसँग सम्बन्धित विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
**१५. नाम दर्ता गर्ने:**
(१) दफा १४ बमोजिम लिइएको इन्जिनियरिङ व्यवसायी दर्ता परीक्षा उत्तीर्ण भएका दरखास्तबालाको नाम दर्ता गर्नको लागि समितिले परिषद्मा सिफारिस गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम नाम दर्ताको लागि सिफारिस प्राप्त भएपछि परिषद्ले सो नामाबली बमोजिम परिषद्मा नाम दर्ता गर्नु पर्नेछ।
**१६. नाम दर्ता प्रमाणपत्र दिनेः**
दफा १४ बमोजिम नाम दर्ता गरेका व्यक्तिलाई रजिष्ट्रारले तोकिए बमोजिमको ढाँचामा नाम दर्ता प्रमाणपत्र दिनु पर्नेछ।
**१७. दर्ता किताबबाट नाम हटाउने:**
(१) देहाय बमोजिमको अवस्थामा बाहेक दर्ताबाला इन्जिनियरको नाम दर्ता किताबबाट हटाइने छैन:
(क) दफा ७ बमोजिम अयोग्य भएमा,
(ख) व्यवसायिक आचार संहिताको उल्लङ्घन गरेको अभियोगमा दर्ता किताबबाट नाम हटाउने भनी परिषद्को बैठकमा पेश भएको प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित भएमा, बा
(ग) धोखा बा गल्तीले योग्यता नपुगेको कुनै व्यक्तिको नाम दर्ता हुन गएमा।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको आरोपमा कुनै दर्ताबाला इन्जिनियरको नाम दर्ता किताबबाट हटाउने प्रस्ताव परिषद्को बैठकमा पेश गर्नु अघि त्यस्तो व्यक्तिलाई लागेको अभियोगको सम्बन्धमा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न परिषद्ले एक जाँचबुझ समिति गठन गर्नेछ।
(३) उपदफा (२) बमोजिम गठन भएको जाँचबुझ समितिले जाँचबुझ गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ।
**१८. प्रमाणपत्र रद्द गर्नेः**
(१) दफा १६ बमोजिम परिषद्ले दर्ता किताबबाट नाम हटाउने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो व्यक्तिको नाम दर्ता किताबबाट हटाई दफा १६ बमोजिम दिइएको नाम दर्ता प्रमाणपत्र रद्द गरी सम्बन्धित व्यक्तिलाई सो कुराको जानकारी दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम नाम दर्ता प्रमाणपत्र रद्द गर्नु अघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ।
**१९. पुनः नाम दर्ता गर्ने:**
(१) दफा १६ को उपदफा (१) को खण्ड (क), (ख) र (ग) बमोजिमको अवस्थामा दर्ता किताबबाट नाम हटाउने निर्णय गरेकोमा त्यस्तो निर्णय भएको मितिले कम्तीमा एक बर्ष पछि सम्बन्धित व्यक्तिले मनासिब माफिकको कारण खोली पुनः नाम दर्ताको लागि दफा १२ बमोजिम परिषद्मा दरखास्त दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम पुनः नाम दर्ताको लागि दरखास्त दिएमा परिषद्ले त्यस्तो दरखास्तबालाको नाम पुनः दर्ता गर्न मनासिब देखेमा पुनः नाम दर्ता गर्ने निर्णय गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम परिषद्ले दरखास्तबालाको नाम पुनः दर्ता गर्ने निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो दरखास्तबालाको नाम दर्ता किताबमा पुनः दर्ता गरी दरखास्तबालालाई तोकिए बमोजिमको ढाँचामा पुनः नाम दर्ता भएको प्रमाणपत्र दिनु पर्नेछ।
---
## परिच्छेद - ४
### शैक्षिक संस्था र शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिको मान्यता
**२१. शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिको मान्यताः**
(१) कुनै शिक्षण संस्थाले प्रदान गरेको इन्जिनियरिङ विषयको शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिलाई परिषद्ले मान्यता दिनेछ।
(२) उपदफा (१) बमोजिम परिषद्ले मान्यता दिएको शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधि र त्यस्तो प्रमाणपत्र बा उपाधि प्रदान गर्ने शिक्षण संस्थाको नाम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
**२१क. शिक्षण संस्थालाई मान्यता प्रदान गर्नेः**
(१) प्रचलित कानून बमोजिम स्थापना भएका शिक्षण संस्थाले इन्जिनियरिङ विषयको अध्ययन, अध्यापन गर्नु, गराउनु अघि परिषद्बाट समेत मान्यता प्राप्त गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम मान्यता प्राप्त गर्नको लागि परिषद्ले तोके बमोजिमको विवरण र दस्तुर संलग्न गरी परिषद्मा निवेदन दिनु पर्नेछ।
(३) परिषद्ले उपदफा (२) बमोजिमको निवेदन उपर तोकिए बमोजिमको मापदण्डको आधारमा जाँचबुझ गरी तोकिए बमोजिमको मापदण्ड पूरा गर्ने शिक्षण संस्थालाई परिषद्ले तोके बमोजिमको शुल्क लिई स्थायी बा अस्थायी मान्यता प्रदान गर्न सक्नेछ।
**२१ख. मान्यता रद्द गर्न सिफारिस गर्नेः**
परिषद्ले दफा २१क. बमोजिम मान्यता दिएको शिक्षण संस्थाको अनुगमन गर्दा त्यस्ता संस्थाले पाठ्यक्रम, विद्यार्थीको भर्नाका आधार भौतिक पूर्वाधार तथा शैक्षिक मापदण्ड पालना गरेको नदेखिएमा परिषद्ले त्यस्ता शिक्षण संस्थाको मान्यता रद्द गर्न नेपाल सरकार बा सम्बन्धित प्रदेश सरकारलाई सिफारिस गर्न सक्नेछ।
**२२. विवरण माग गर्न सक्नेः**
(१) दफा २१ बमोजिम कुनै शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिको मान्यता दिने क्रममा परिषद्ले सम्बन्धित शिक्षण संस्थासँग त्यस्तो शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिको लागि निर्धारित पाठ्यक्रम तथा भर्नाको लागि निर्धारित शर्त तथा तत्सम्बन्धी अन्य विवरणहरू माग गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम परिषद्बाट माग भए बमोजिमको आवश्यक विवरण उपलब्ध गराउनु सम्बन्धित शिक्षण संस्थाको कर्तव्य हुनेछ।
**२३. परीक्षाको निरीक्षण:**
(१) दफा २१ बमोजिम कुनै शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधीको मान्यता दिने क्रममा बा मान्यता दिई सकेपछि उक्त शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधी प्रदान गर्ने सम्बन्धित शिक्षण संस्थाबाट लिईने परीक्षा प्रणालीको बारेमा निरीक्षण गर्न परिषद्ले निरीक्षक नियुक्त गरी पठाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम पठाइएको निरीक्षकले निरीक्षण गर्ने क्रममा परीक्षामा कुनै किसिमको हस्तक्षेप गर्न पाउने छैन।
(३) उपदफा (२) बमोजिम परीक्षाको निरीक्षण गर्ने निरीक्षकले परीक्षा निरीक्षणको क्रममा देखेका कुराहरूको बारेमा प्रतिवेदन तयार गरी परिषद्मा पेश गर्नु पर्नेछ।
**२४. मान्यता हटाउने:**
(१) दफा २१ बमोजिम मान्यता प्रदान गरिएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिको सम्बन्धमा सम्बन्धित शिक्षण संस्थाबाट दफा २२ बमोजिम प्राप्त विवरण बा दफा २३ को उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदन उपर विचार गर्दा त्यस्तो शिक्षण संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्त तथा परीक्षा प्रणाली उपयुक्त तथा पर्याप्त छैन भन्ने लागेमा परिषद्ले सो सम्बन्धमा आफनो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ।
(२) उपदफा (१) बमोजिम परिषद्को प्रतिवेदन प्राप्त भएपछि सो सम्बन्धमा नेपाल सरकारले सम्बन्धित संस्थासँग स्पष्टीकरण माग गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित शिक्षण संस्थासँग माग गरिए बमोजिम प्राप्त हुन आएको स्पष्टीकरणको सम्बन्धमा नेपाल सरकारले विचार गरी सो सम्बन्धमा अन्य कुनै कुरा जाँचबुझ गर्नु पर्ने भए आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो शिक्षण संस्थाले कुनै खास मितिपछि प्रदान गरेको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिको मान्यता हटाउन सक्नेछ।
(४) उपदफा (३) बमोजिम कुनै शैक्षिक योग्यताको प्रमाणपत्र बा उपाधिको मान्यता हटाइएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
---
## परिच्छेद - ५
### अध्यक्ष, उपाध्यक्ष तथा रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
**२५. अध्यक्षको काम, कर्तव्य र अधिकार:**
यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य तथा अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
(क) परिषद्को बैठकमा छलफल गरिने विषयहरूको प्राथमिकता निर्धारण गर्ने,
(ख) परिषद्द्वारा संचालित योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्यांकन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) परिषद्को काम कारबाही व्यवस्थित, प्रभावकारी र सूचारु रूपबाट संचालन गर्ने, गराउने।
(घ) तोकिए बमोजिमको अन्य कार्य गर्ने।
**२६. उपाध्यक्षको काम, कर्तव्य र अधिकार:**
अध्यक्षको अनुपस्थितिमा यस ऐन बमोजिम अध्यक्षले गर्नु पर्ने काम, कर्तव्य र अधिकारको प्रयोग गर्नु उपाध्यक्षको कर्तव्य हुनेछ।
**२७. रजिष्ट्रारको नियुक्ति तथा काम, कर्तव्य र अधिकार:**
(१) परिषद्को काम गर्न इन्जिनियरिङ विषयमा स्नातकोपाधि प्राप्त गरी कम्तीमा दश बर्ष इन्जिनियरिङ व्यवसायमा अनुभवप्राप्त इन्जिनियरहरू मध्येबाट खुला प्रतिस्पर्धाको आधारमा नेपाल सरकारले एकजना रजिष्ट्रार नियुक्त गर्नेछ।
(१क) उपदफा (१) बमोजिम नियुक्त रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ।
(१ख) उपदफा (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि रजिष्ट्रारको कार्य क्षमताको अभाव भएमा, खराब आचरण भएमा, इमान्दारीपूर्वक पदीय आचरण नगरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ। तर त्यसरी हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ।
(२) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य तथा अधिकारको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:
(क) परिषद्को सामान्य प्रशासन र व्यवस्थापनको कार्य गर्ने,
(ख) परिषद्को कोषको रखदेख नियन्त्रण, सम्पत्तिको व्यवस्था र स्याहार संभारको व्यवस्था गर्ने, गराउने,
(ग) परिषद्को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी परिषद्मा पेश गर्ने,
(घ) परिषद्को वार्षिक आय व्यय तथा पुरक आय व्यय विवरण तयार गर्ने,
(ङ) परिषद्वाट स्वीकृत बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,
(च) परिषद्को आन्तरिक र अन्तिम लेखा परीक्षण गर्ने व्यवस्था गराउने,
(छ) परिषद् र इन्जिनियरहरू बीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने,
(ज) परिषद्वाट निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने, गराउने,
(झ) तोकिए बमोजिमको अन्य कार्य गर्ने।
---
## परिच्छेद - ६
### परिषद्को कोष
**२८. परिषद्को कोष:**
(१) परिषद्को आफ्नो एउटा छुट्टै कोष हुनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहने छन्:
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) स्वदेशी बा विदेशी व्यक्ति, संस्था, सरकार बा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट ऋण, चन्दा, सहायता, अनुदान बा दान दातव्यको रूपमा प्राप्त रकम,
(ग) परिषद्को तर्फबाट उपलब्ध गराइएको सेवा बापत प्राप्त रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिम कुनै विदेशी व्यक्ति, संस्था, सरकार बा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट ऋण, चन्दा सहायता, अनुदान बा दान दातव्य प्राप्त गर्नु अघि परिषद्ले नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ।
(४) परिषद्को कोषमा प्राप्त हुन आएको रकम कुनै बाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ।
(५) परिषद्को कोष र खाताको संचालन तोकिए बमोजिम हुनेछ।
**२९. लेखा तथा लेखा परीक्षण:**
(१) परिषद्को आय व्ययको लेखा तोकिए बमोजिम राखिनेछ।
(२) परिषद्को लेखा परीक्षण तोकिए बमोजिम हुनेछ।
(३) नेपाल सरकारले चाहेमा परिषद्को हिसाब किताब जुनसुकै बखत जाँच्न बा जाँचाउन सक्नेछ।
---
## परिच्छेद - ७
### विविध
**२९क. व्यावसायिक आचार संहिता पालना गर्नु पर्नेः**
इन्जिनियरिङ व्यवसायीले देहाय बमोजिमका व्यावसायिक आचार संहिता पालना गर्नु पर्नेछ:
(क) बदनियत चिताई कुनै पनि काम गर्न, गराउन हुँदैन,
(ख) कुनै काम गर्दा लापरबाही बा हेलचेक्याइँ गर्न, गराउन हुँदैन,
(ग) कुनै परीक्षण गर्दा झूठा बा गलत प्रतिवेदन बा तथ्यभन्दा फरक पर्ने गरी प्रतिवेदन तयार गर्न बा सिफारिस गर्न, गराउन हुँदैन,
(घ) तोकिए बमोजिमका अन्य कुराहरू।
**३०. कसूर तथा दण्ड सजाय:**
(१) दफा ११ बमोजिम परिषद्मा नाम दर्ता नगराई इन्जिनियरिङ व्यवसाय गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दशहजार रुपैयाँसम्म जरिबाना बा तीन महिनासम्म कैद बा दुबै सजाय हुनेछ।
(२क) दफा २१क. बमोजिम परिषद्बाट मान्यता प्राप्त नगरी शिक्षण संस्था सञ्चालन गरेमा परिषद्ले तोकिए बमोजिम कारबाही गर्न सक्नेछ।
(३) उपदफा (२) र (२क) मा उल्लेख भएदेखि बाहेक यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियमको प्रतिकूल हुने गरी कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
(४) व्यावसायिक आचार संहिताको उल्लङ्घन गर्ने बा पालना नगर्ने दर्ताबाला इन्जिनियरलाई परिषद्ले देहाय बमोजिमको सजाय गर्न सक्नेछ:
(क) सचेत गराउने,
(ख) कुनै खास अवधिको लागि इन्जिनियरिङ व्यवसाय गर्न नपाउने गरी नाम दर्ता प्रमाण पत्र निलम्बन गर्ने,
(ग) दर्ता किताबबाट नाम हटाउने।
तर त्यसरी सजाय गर्नु अघि निजलाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ।
**३०क. पुनरावेदन:**
यस ऐन बमोजिम परिषद्ले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले निर्णयको जानकारी पाएको मितिले पैतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।
**३१. परिषद्को बिघटन:**
(१) परिषद्ले यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारको प्रयोग गर्न नसकेको बा अधिकारको दुरुपयोग गरेको बा प्राप्त अधिकार भन्दा बढी अधिकार प्रयोग गरेको बा यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले पालन गर्नु पर्ने कर्तव्य पालन गर्न नसकेको भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले परिषद् बिघटन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम परिषद्को बिघटन भएपछि परिषद्को कोष तथा सम्पत्ति नेपाल सरकारले आफनो जिम्मामा राखी अर्को परिषद् गठन नभएसम्म यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम परिषद्ले गर्नु पर्ने सबै काम कारबाही आफैले गर्न बा एक समिति गठन गरी सो समितिबाट गराउन सक्नेछ।
(३) उपदफा (१) बमोजिम परिषद् बिघटन भएको साधारणतया तीन महिनाभित्र नेपाल सरकारले दफा ४ बमोजिम अर्को परिषद् गठन गर्नेछ।
(४) उपदफा (३) बमोजिम अर्को परिषद् गठन भएपछि उपदफा (२) बमोजिम नेपाल सरकारले आफनो जिम्मामा राखेको कोष तथा सम्पत्ति उक्त परिषद्लाई हस्तान्तरण गर्नेछ।
**३२. विषय समिति तथा अन्य समिति गठन गर्न सक्नेः**
(१) परिषद्ले आवश्यकता अनुसार विषय समिति तथा अन्य समिति गठन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम गठन भएका विषय समिति तथा समितिको काम, कर्तव्य तथा अधिकार परिषद्ले तोकिदिए बमोजिम हुनेछ।
**३३. सदस्यको बैठक भत्ता तथा अन्य सुविधा:**
सदस्य तथा दफा ३२ बमोजिम गठन भएका विषय समिति तथा अन्य समितिका सदस्यको बैठक भत्ता तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ।
**३४. परिषद्को कर्मचारी:**
(१) परिषद्ले आवश्यकता अनुसार कर्मचारीको नियुक्ति गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीको सेवा, शर्त तथा सुविधा विनियममा तोकिए बमोजिम हुनेछ।
**३५. अनुसन्धान तहकिकात तथा मुद्दा चलाउने अधिकारी:**
दफा ३० बमोजिमको कसूरको अनुसन्धान तहकिकात गर्ने, मुद्दा चलाउने अधिकारी बा निकाय र तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ।
**३६. नेपाल सरकारसँग सम्पर्क:**
परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा "नेपाल सरकारको भौतिक पूर्वाधार सम्बन्धी विषय हेर्ने मन्त्रालय मार्फत राख्नु पर्नेछ।
**३७. नियम विनियम निर्देशिका कार्यविधि र मापदण्ड बनाउन सक्नेः**
(१) यो ऐन कार्यान्वयन गर्न परिषद्ले आवश्यक नियम बनाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम बनाएको नियम नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ।
(३) यो ऐन र उपदफा (१) बमोजिम बनेको नियम बिपरीत नहुने गरी परिषद्ले आवश्यक विनियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्नेछ।
(४) यस ऐन बमोजिम परिषद्ले बनाएको नियम, विनियम, निर्देशिका, कार्यविधि र मापदण्ड सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ।
**३७क. वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेः**
(१) परिषद्ले आफूले वर्षभरि सम्पादन गरेको कामको संक्षिप्त विवरण, प्रशासकीय खर्च, आय-व्ययको विवरण तथा भविष्यमा सञ्चालन गर्ने कार्यक्रम समेत समावेश गरी प्रत्येक वर्षको असोज महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन परिषद्ले सार्वजनिक समेत गर्नु पर्नेछ।
**३७ख. नेपाल सरकारले परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेः**
(१) नेपाल सरकारले परिषद्को काम कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले दिएको निर्देशनको पालन गर्न परिषद्को कर्तव्य हुनेछ।
**३८. अनुसूचीमा थप गर्न सक्नेः**
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यकता अनुसार इन्जिनियरिङ विषय थप गर्न सक्नेछ।
---
## अनुसूची
(दफा २ को खण्ड (ङ) सँग सम्बन्धित)
### इन्जिनियरिङ व्यवसाय
१. सिभिल इन्जिनियरिङ
(क) जनरल
(ख) हाईवे
(ग) स्यानीटरी
(घ) बिल्डिङ एण्ड आर्किटेक्ट
(ङ) इरिगेशन
(च) हाइड्रोलोजी
(छ) हाइड्रोपावर
(ज) एअरपोर्ट
२. इलेक्ट्रिकल
(क) जनरल इलेक्ट्रिकल
(ख) एभिएशन इलेक्ट्रिकल
(ग) इलेक्ट्रिकल एण्ड कम्प्युटर इन्जिनियरिङ
३. इलेक्ट्रोनिक एण्ड कम्युनिकेशन
४. मेकानिकल
(क) जनरल मेकानिकल
(ख) एभिएसन मेकानिकल
(ग) निर्माण उपकरण संभार
(घ) प्रोडक्सन इन्जिनियरिङ
५. एरोनटिकल
६. माइनिङ
७. केमिकल
(क) केमिकल इन्जिनियरिङ
(ख) केमिकल इन्जिनियरिङ एण्ड पोलिमर साइन्स
८. मेटालर्जिकल
९. मेट्रोलोजी
१०. मेटिरियोलोजी
११. जियोलोजी
(क) जनरल
(ख) हाइड्रोजियोलोजी
(ग) इन्जिनियरिङ जियोलोजी
१२. सिभिल एभिएसन अपरेशन एण्ड इन्जिनियरिङ
(क) सिभिल एभिएसन अपरेशन
(ख) फ्लाइट अपरेशन
(ग) एभिएसन फायर सर्भिसेज
१३. सर्भे
१४. केमेट्री
१५. एग्री इरिगेशन इन्जिनियरिङ
१६. टेक्सटाईल इन्जिनियरिङ
१७. इलेक्ट्रोनिक्स एण्ड कम्प्यूटर साइन्स
१८. कम्प्यूटर इन्जिनियरिङ
(क) कम्प्यूटर इन्जिनियरिङ
(ख) इलेक्ट्रोनिक्स एण्ड कम्प्यूटर साइन्स
(ग) कम्प्यूटर एण्ड कम्यूनिकेशन इन्जिनियरिङ
१९. इन्भाइरोमेन्टल इन्जिनियरिङ
२०. अटोमोबाइल इन्जिनियरिङ
२१. ईण्डह्रियल इन्जिनियरिङ
२२. रेडियो इन्जिनियरिङ
२३. सिस्टम इन्जिनियरिङ
२४. अटोमेशन इन्जिनियरिङ
२५. बेचलर अफ अर्वान एण्ड फिजिकल प्लानिङ
२६. जियोटेक्निकल इन्जिनियरिङ
२७. फरेष्ट्री इन्जिनियरिङ
२८. एग्रिकल्चर इन्जिनियरिङ
२९. इनर्जी इन्जिनियरिङ
३०. इन्फरमेशन टेक्लोलोजी एण्ड टेलिकम्युनिकेशन इन्जिनियरिङ
३१. अर्थक्वेक इन्जिनियरिङ
३२. आर्किटेक्ट इन्जिनियरिङ
३३. इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ
३४. इलेक्ट्रोनिक्स
(क) इलेक्ट्रोनिक्स इन्जिनियरिङ
(ख) इलेक्ट्रोनिक्स एण्ड इन्स्टुमेन्टेशन
३५. एभियोनिक्स इन्जिनियरिङ
३६. म्यानुफ्याक्चरिङ साइन्स एण्ड इन्जिनियरिङ
३७. इलेक्ट्रोनिक्स एण्ड टेलिकम्यूनिकेशन इन्जिनियरिङ
३८. साउण्ड एण्ड भिडियो इन्जिनियरिङ
३९. इण्डष्ट्रियल इलेक्ट्रोनिक्स इन्जिनियरिङ
४०. सफ्टबेर इन्जिनियरिङ
४१. इन्स्टुमेन्टेशन इन्जिनियरिङ
४२. इन्फरमेसन टेक्नोलोजी
४३. बायोमेडिकल इन्जिनियरिङ
(क) बायोमेडिकल इन्जिनियरिङ
(ख) मेडिकल इलेक्ट्रोनिक्स
४४. जियोम्याटिक्स इन्जिनियरिङ
४५. फूड इन्जिनियरिङ
४६. सिभिल एण्ड रुरल इन्जिनियरिङ
४७. बायोटेक्नोलोजी
४८. इलेक्ट्रोमेकानिकल
४९. पेट्रोलियम इन्जिनियरिङ
५०. मेकाट्रोनिक्स इन्जिनियरिङ
५१. हाइटेकप्लासमा एण्ड प्लान्ट्स इन्जिनियरिङ
५२. ब्याचलर अफ इन्जिनियरिङ साइन्स एण्ड टेक्नोलोजी अफ बिपेनरी
५३. Genetic Engineering
५४. Logistic Engineering
५५. ब्याचलर अफ हाइड्रोपावर इन्जिनियरिङ
५६. मेटेरियल साइन्स एण्ड इन्जिनियरिङ
५७. एयरस्पेस इन्जिनियरिङ
५८. इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इनफरमेशन इन्जिनियरिङ
५९. इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड अटोमेशन इन्जिनियरिङ